काठमाडौं, चैत ८, २०८२ — नेपालको असहमति हुँदाहुँदै भारतले लिपुलेक पास हुँदै चीनसँगको सीमा व्यापार पुनः सञ्चालन गर्ने घोषणा गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डस्थित पिथौरागढका जिल्ला अधिकारी आशिष भटगानीले आगामी जुन १ देखि उक्त व्यापार मार्ग पुनः खोलिने जानकारी दिएका छन्।
कोभिड–१९ महामारीपछि करिब पाँच वर्षदेखि बन्द रहेको यो मार्ग पुनः सञ्चालनमा ल्याउन लागिएको हो। व्यापार अवरुद्ध हुँदा स्थानीय व्यापारीहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको भारतीय पक्षको भनाइ छ।
लिपुलेक पास नेपालको पश्चिमी क्षेत्र लिम्पियाधुराभित्र पर्ने भूभाग हो, जसलाई नेपालले आफ्नो क्षेत्राधिकारभित्र पर्ने दाबी गर्दै आएको छ।
भारतीय सञ्चारमाध्यम पीटीआईका अनुसार भारतको विदेश मन्त्रालयले उक्त मार्ग सञ्चालनका लागि ‘नो अब्जेक्सन लेटर’ जारी गरिसकेको छ। विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्ड सरकारलाई पत्र लेख्दै व्यापार पुनःस्थापनाको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
यसअघि पनि लिपुलेक हुँदै भारत–चीन व्यापार सञ्चालन गर्ने विषयमा नेपालसँग परामर्श नगरी सम्झौता गरिएको भन्दै नेपाल सरकारले कडा आपत्ति जनाएको थियो।
यस नयाँ निर्णयले नेपाल–भारत सम्बन्ध तथा सीमासम्बन्धी विवादलाई पुनः चर्काउने संकेत देखिएको छ।

