इङ्ग्ल्याण्डको लगातार तेस्रो जित, न्युजिल्याण्ड सेमिफाइनल दौडमा दबाबमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

फागुन १६, काठमाडौं : ट्वान्टी–२० विश्वकपको सुपर एट चरणमा शुक्रबार इङ्ग्ल्याण्डले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ। कोलम्बोमा भएको खेलमा १ सय ६० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले ३ बल बाँकी रहँदै ६ विकेट गुमाएर १ सय ६१ रन बनायो।

इङ्ग्ल्याण्डको जितमा विल ज्याक्स र रेहन अहमदले अन्तिम समयमा अविजित ४४ रनको साझेदारी गरे। ज्याक्सले १८ बलमा ३२ रन बनाए भने रेहनले ७ बलमा १९ रन जोडे। कप्तान ह्यारी ब्रुकले २६, टम बान्न्टनले ३३, ज्याकोब बेथलले २१ र साम करनले २४ रनको योगदान दिए।

न्युजिल्याण्डका स्पिनर रचिन रवीन्द्रले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो। ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन बनाए भने टिम सेफर्टले ३५ रन जोडे।

इङ्ग्ल्याण्डका स्पिनर आदिल रशिद र विल ज्याक्सले समान २–२ विकेट लिए भने रेहन अहमदले पनि २ विकेट लिए। प्रतियोगितामा रशिदले सर्वाधिक ११ विकेट लिइसकेका छन्।

यो जितसँगै इङ्ग्ल्याण्ड सुपर एटमा शीर्ष चारमा स्थान सुरक्षित गर्दै सेमिफाइनल नजिक पुगेको छ। अब न्युजिल्याण्डको सेमिफाइनल सम्भावना भने पाकिस्तान र श्रीलंकाबीच हुने खेलको नतिजामा निर्भर रहनेछ।

Leave a Comment