समानुपातिक सांसदप्रति भेदभाव नभएको प्रधानमन्त्रीको स्पष्टीकरण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बुधबार, २ वैशाख २०८३,काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एक क्षेत्रमै सीमित नभई देशभरका उत्पीडित तथा पछाडि पारिएका समुदायको प्रतिनिधित्व गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा उनले समानुपातिक सांसदलाई राष्ट्रिय मूलधार र विभिन्न समुदायबीच सेतुको रूपमा व्याख्या गरे। उनका अनुसार यस्ता सांसदहरूले आफ्ना क्लस्टरका मुद्दालाई प्राथमिकतामा राख्दै राष्ट्रिय कानुन निर्माण र समग्र विकासमा योगदान दिनुपर्छ।
प्रधानमन्त्री शाहले भने, “प्रत्यक्ष निर्वाचित सांसदहरू निश्चित क्षेत्रमा सीमित हुन्छन्, तर समानुपातिक सांसदहरू देशभरका आफ्ना समुदायका लागि आशा र आवाज बन्न सक्छन्।”
छलफलका क्रममा केही सांसदहरूले प्रत्यक्ष र समानुपातिकबीच भेदभाव हुने गुनासो गरेपछि प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरे। उनले यस्तो छुट्टै संवादलाई विभेद नभई सम्बन्धित समुदायका समस्या गहिराइमा बुझ्ने प्रयासका रूपमा लिन आग्रह गरे।
उनले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै समस्या समाधानमा प्रविधिको प्रयोग बढाइने बताए। छलफलमा उठेका विषयमा आवश्यक ‘फलोअप’ गरिने र सुझाव तथा समन्वयका लागि डिजिटल माध्यम खुला रहने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहका अनुसार समानुपातिक प्रणालीले संसदलाई अझ समावेशी बनाउने काम गरेको छ। उनले सांसदहरूलाई निर्धक्क रूपमा कानुन निर्माण र संसदीय समन्वयमा सक्रिय भूमिका निर्वाह गर्न पनि आग्रह गरे।

Leave a Comment