जनकपुरमा बीबीसी डकुमेन्ट्री प्रदर्शन गर्दै हिँडेको आरोपमा रास्वपा कार्यकर्ता गाडीसहित पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१६ फागुन २०८२, जनकपुरधाम-जनकपुरधाममा बीबीसीले निर्माण गरेको जेनजी आन्दोलनसम्बन्धी डकुमेन्ट्री सार्वजनिक रूपमा प्रदर्शन गर्दै हिँडेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्ता गाडीसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेश बमका अनुसार भारतीय नम्बर प्लेट बीआर–०१–जी–०१४६७ भएको सवारीमा प्रोजेक्टर जडान गरी जनकपुर रेल्वे स्टेशन अगाडि उक्त डकुमेन्ट्री प्रदर्शन भइरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरेको थियो। सोही क्रममा रास्वपा कार्यकर्ता विकास जयसवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार डकुमेन्ट्री प्रदर्शनमा प्रयोग भएका अन्य दुई वटा सवारी भने घटनास्थलबाट फरार भएका छन्। ती भारतीय नम्बर प्लेटका गाडीहरू प्रोजेक्टरसहित विभिन्न स्थानमा डकुमेन्ट्री देखाउने उद्देश्यले जनकपुर ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले फरार सवारीहरूको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Comment