७ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफ्नै पत्नीसहित निकट नातेदारहरूलाई प्रधानमन्त्रीको सचिवालयमा महत्वपूर्ण जिम्मेवारी दिएको खुलासा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्रोतका अनुसार सचिव सरहको सुविधा पाउने आदर्श श्रेष्ठले असोज २ गते पत्नी संगीता श्रेष्ठलाई स्वकीय सहसचिवमा नियुक्त गरेका हुन्। सोही दिन नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएकी बताइएको छ। यस्तै नासु सरहका प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए।
प्रधानमन्त्री सुशीला कार्की पदभार सम्हालेको एक साताभित्रै यी नियुक्ति गरिएको पाइएको हो।
प्रतिक्रियामा आदर्श श्रेष्ठ : ‘नजिकको मानिस आवश्यक भएकाले नियुक्ति’
अनलाइनखबरसँग कुरा गर्दै प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले संगीता श्रेष्ठ आफ्नी पत्नी भएको सत्य स्वीकारे। तर सबै नियुक्ति आफ्ना नातेदारको रुपमा गरिएको दाबी गलत भएको बताए।
उनले भने, “प्रधानमन्त्रीको सचिवालय अत्यन्त संवेदनशील स्थान हो। विश्वासयोग्य व्यक्ति आवश्यक पर्यो, त्यसक्रममा मेरी पत्नीको चयन भए पनि सबै नियुक्ति मैले नै गराएको भन्ने कुरा निराधार हो।”
उनका अनुसार सचिवालयमा नियुक्त भएका धेरै व्यक्तिहरू प्रतिस्पर्धाबाट आएको बावजुद पनि आफूले सिफारिस गरेको भनेर हल्ला चलाइयो। उनले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नाम समेत मुद्दामा जोडिन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘जम्बो सचिवालय हटाएर २६ जनाबाट काम’
सचिवालयमा कार्यरत अर्को एक कर्मचारीले विगतमा प्रधानमन्त्रीका सचिवालयमा झण्डै ९४ जनासम्म कर्मचारी राखिने गरेको तर वर्तमान सरकारले मितव्ययीताको नीति लिँदै मात्र २६ जनामा सीमित गरेको बताए।
उनले भने, “यस पटक जथाभावी नियुक्ति घटाइएको छ। तर त्यो नहेरी विश्वासमा रहेर काम गर्ने कर्मचारीमाथि प्रश्न उठाउनु उचित होइन।”
स्रोतहरूका अनुसार विगतमा पशुपति विकास कोष, नेपाल प्रहरी, समाज कल्याण परिषद्लगायतका संस्थाबाट समेत कर्मचारी भित्र्याई ‘जम्बो सचिवालय’ बनाउने अभ्यास थियो, तर वर्तमान नेतृत्वले त्यस्तो प्रवृत्ति रोक्ने प्रयास गरिरहेको छ।



Leave a Reply