इरानको विद्यालयमा इजरायली आक्रमण : मृत्यु हुने विद्यार्थी ४० पुग
१६ फागुन २०८२, शनिबार
तेहरान/मिनाब, इरान
इरानको दक्षिणी होर्मोजगान प्रान्तस्थित एक विद्यालयमा भएको इजरायली आक्रमणमा परी मृत्यु हुने विद्यार्थीको संख्या ४० पुगेको बताइएको छ।
स्थानीय अधिकारीहरूका अनुसार मिनाब सहरको एक बालिका प्राथमिक विद्यालयलाई लक्षित गरी गरिएको आक्रमणमा ठूलो मानवीय क्षति भएको हो। प्रारम्भिक विवरणमा कम जनधन क्षति देखिए पनि समयसँगै मृतकको संख्या बढ्दै ४० पुगेको पुष्टि गरिएको छ।
इरानको सरकारी समाचार संस्था आईआरएनएले पछिल्लो तथ्यांक सार्वजनिक गर्दै आक्रमणमा परी ज्यान गुमाउने अधिकांश बालिका विद्यार्थी रहेको जनाएको छ। यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले मृतक संख्या क्रमशः ५ र २४ रहेको उल्लेख गरेका थिए।
घटनापछि राजधानी तेहरानसहित इरानका विभिन्न सहरहरूमा विस्फोटका आवाज सुनिएको र सुरक्षा सतर्कता उच्च बनाइएको छ। संवेदनशील सरकारी संरचनाहरू, विशेषगरी सर्वोच्च नेता आयातुल्लाह अली खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालय आसपासको सुरक्षा व्यवस्था कडा पारिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
आक्रमणको विस्तृत परिस्थितिबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको छ। इरान–इजरायल तनावको पृष्ठभूमिमा भएको यस घटनाले क्षेत्रीय सुरक्षा अवस्थाप्रति थप चिन्ता बढाएको छ।

