काठमाडौँ, वैशाख ३ — प्रधानमन्त्रीसँगको पहिलो सामूहिक भेटपछि विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले छलफललाई सकारात्मक र अपेक्षा भन्दा फरक अनुभव भएको बताएका छन्। उनीहरूका अनुसार भेटघाट औपचारिकभन्दा बढी अन्तरक्रियात्मक र सौहार्दपूर्ण रह्यो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्रीसँगको संवाद पुराना साथीहरूबीचको जस्तै आत्मीय भएको बताए। उनले प्रधानमन्त्रीले आफ्ना धारणा गम्भीरतापूर्वक सुन्नुका साथै आवश्यक जिज्ञासा राख्दै विषयलाई स्पष्ट बनाउन सहयोग गरेको उल्लेख गरे। स्थानीय तहको नेतृत्व गरिसकेको अनुभवका कारण प्रधानमन्त्रीले प्रदेशका समस्या बुझ्न सहज भएको उनको भनाइ छ।
वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले पनि प्रधानमन्त्रीप्रतिको आफ्नो धारणा भेटपछि बदलिएको प्रतिक्रिया दिए। “बाहिर सुनेको जस्तो होइन रहेछ,” उनले भने, “प्रधानमन्त्रीले पर्याप्त समय दिएर हाम्रो कुरा सुन्नुभयो र समाधानतर्फ पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।” उनले छलफलपछि आवश्यक समन्वयका लागि प्रधानमन्त्री कार्यालयबाट निर्देशन जारी भएको जानकारी पनि दिए।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्रीले संविधानअनुसार तीन तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावना आत्मसात् गरेको अनुभूति भएको बताए। मधेस प्रदेशका कृष्णप्रसाद यादव र कर्णाली प्रदेशका यामलाल कँडेलले पनि यस्तै धारणा राख्दै छलफललाई उपयोगी बताएका छन्।
उक्त भेटमा बाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र मधेस प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता रहेको थियो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पारिवारिक कारण र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह स्वास्थ्य समस्याका कारण उपस्थित हुन सकेनन्।
छलफलले संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा मुख्यमन्त्रीहरूले व्यक्त गरेका छन्।
प्रधानमन्त्रीसँगको भेटपछि मुख्यमन्त्रीहरू सकारात्मक: ‘अपेक्षा भन्दा फरक अनुभव’
Leave a Comment
Leave a Comment

