आज साँझ दुर्लभ खण्डग्रास चन्द्रग्रहण, चन्द्रमा ग्रहणसहित उदाउने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

मङ्गलबार, १९ फागुन २०८२ | काठमाडौं

आज साँझ नेपालबाट दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण देख्न सकिने भएको छ। खगोलविद्हरूका अनुसार चन्द्रमा साँझ ६ः०४ बजे उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिनेछ, जसका कारण यो घटना विशेष मानिएको हो।

वल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्रा.डा. जयन्त आचार्यका अनुसार यो चन्द्रग्रहण नेपालका विभिन्न स्थानबाट अवलोकन गर्न सकिनेछ। काठमाडौँमा चन्द्रमा क्षितिजबाट माथि उठ्दै गर्दा यसको आधाभन्दा बढी भाग पृथ्वीको छायाँले ढाकिएको अवस्थामा देखिनेछ। यो दृश्य करिब एक घण्टासम्म स्पष्ट रूपमा हेर्न सकिने अनुमान गरिएको छ।

चन्द्रग्रहण अवलोकन गर्न कुनै विशेष उपकरण वा सुरक्षात्मक चस्माको आवश्यकता पर्दैन। सूर्यग्रहणजस्तो आँखामा असर नगर्ने भएकाले खुला ठाउँबाट नाङ्गो आँखाले सुरक्षित रूपमा हेर्न सकिन्छ।

यसअघि गत भदौ २२ गते खग्रास (पूर्ण) चन्द्रग्रहण लागेको थियो, जुन काठमाडौँबाट करिब साढे तीन घण्टासम्म देखिएको थियो। खगोलविद्हरूका अनुसार अब सूर्यग्रहण भने नेपालबाट २०८४ सालमा मात्रै देख्न सकिनेछ।

कसरी लाग्छ सूर्य र चन्द्रग्रहण?

सूर्यग्रहण औँसीका दिन र चन्द्रग्रहण पूर्णिमाका दिन लाग्छ। जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्छन्, तब ग्रहण लाग्ने अवस्था सिर्जना हुन्छ। पृथ्वीको छायाँमा चन्द्रमा पर्दा चन्द्रग्रहण देखिन्छ भने चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ।

चन्द्रग्रहण पृथ्वीको रात पर्ने भागबाट देख्न सकिन्छ। तर सूर्यग्रहण सीमित भूभागबाट मात्र देखिने भएकाले सबैले अवलोकन गर्न पाउँदैनन्।

वैज्ञानिकहरूका अनुसार चन्द्रग्रहण पूर्ण रूपमा हानिरहित हुन्छ। तर सूर्यग्रहण प्रत्यक्ष हेर्दा आँखामा गम्भीर असर पर्न सक्ने भएकाले विशेष सुरक्षात्मक चस्मा प्रयोग गर्न आवश्यक हुन्छ।

Leave a Comment