चैते दशैं आज, देवी पूजा र शक्ति आराधनामा देशभर

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १२ चैत — चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं आज देशभर नवदुर्गा भगवतीको पूजा आराधनासहित मनाइँदैछ।

वर्षमा चार नवरात्र पर्ने भए पनि असोज शुक्ल पक्षको नवरात्र सबैभन्दा बढी प्रचलित छ, जसलाई बडादशैंका रूपमा मनाइन्छ। तर चैत्र शुक्ल पक्षमा पर्ने नवरात्र, अर्थात् चैते दशैं पनि धार्मिक रूपमा विशेष महत्व राख्ने पर्व हो।

चैते दशैंमा अधिकांश घरमा टीका र जमरा लगाउने परम्परा भने कम देखिन्छ। तर काठमाडौंको हनुमानढोका दरबारस्थित दशैंघरमा विधिपूर्वक घटस्थापना गरी अष्टमीका दिन बलि दिने चलन कायमै छ।

यस पर्वमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाइन्छ। अष्टमीलाई चैते दशैंको मुख्य दिन मानिन्छ भने नवमीका दिनलाई भगवान रामको जन्मसँग जोडेर रामनवमीका रूपमा पनि मनाइन्छ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी लगायतका शक्तिपीठमा आज विशेष पूजा आराधना भइरहेको छ।

त्यसैगरी उपत्यका बाहिर मनकामना, पलाञ्चोक भगवती, चण्डेश्वरी, शैलेश्वरी, वागेश्वरी, गहवामाई लगायतका शक्तिपीठमा पनि भक्तजनको भीड लागेको छ।

धार्मिक विश्वास अनुसार चैत्र नवरात्रका अवसरमा शक्तिपीठमा पूजा तथा दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।

Leave a Comment