२२ फागुन,काठमाडौं । इंग्ल्याण्डलाई ७ रनले पराजित गर्दै भारत टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। बिहीबार भएको दोस्रो सेमिफाइनलमा रोमाञ्चक जित निकाल्दै भारत लगातार दोस्रो पटक फाइनल पुगेको हो।
मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो। भारतका लागि सञ्जु स्यामसनले ४२ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै ८९ रनको उत्कृष्ट पारी खेले। शिवम दुबेले ४३ रन, इशान किशनले ३९ तथा तिलक वर्माले २१ रन बनाए।
२५४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो। इंग्ल्याण्डका जेकब बेथहेलले ४८ बलमा १०५ रनको शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। विल ज्याक्सले ३५, साम करनले १८, जस बटलरले २५ तथा टम बेन्टनले १७ रन बनाए।
भारतका लागि हार्दिक पाण्ड्याले २ विकेट लिए भने अर्शदिप सिंह, जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले समान १–१ विकेट लिए।
भारत यसअघि दुई पटक टी–२० विश्वकप च्याम्पियन बनिसकेको छ। अब भारतले उपाधिका लागि फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ।

