समानुपातिकमा रास्वपाको दबदबा, एक करोड १२ लाख मतमध्ये झन्डै आधा रास्वपाको

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, २७ फागुन २०८२ (बुधबार)
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रको परिणाम यसअघि नै सार्वजनिक भइसकेको थियो भने अब समानुपातिकतर्फका ११० सिटका लागि पनि अन्तिम मत परिणाम आएको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीमा कुल १ करोड १२ लाख ८० हजार ८९८ मत खसेको छ। तीमध्ये १ करोड ८ लाख ३० हजार ८१५ मत सदर भएको छ भने ४ लाख ५० हजार ८३ मत बदर भएका छन्। बदर मतको प्रतिशत करिब ४ प्रतिशत रहेको आयोगले जनाएको छ।

सदर मतमध्ये सबैभन्दा धेरै मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको छ। रास्वपाले ५१ लाख ८१ हजार ३३० मत (४७.८%) पाउँदै समानुपातिकतर्फ स्पष्ट अग्रता कायम गरेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १७ लाख ५८ हजार ९०३ मत (१६.२%) पाएको छ भने नेकपा (एमाले) ले १४ लाख ५५ हजार ६६९ मत (१३.४%) प्राप्त गरेको छ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ८ लाख ११ हजार ३९३ मत (७.५%) पाएको छ। पाँचौँ स्थानमा रहेको श्रम संस्कृति पार्टी ले ३ लाख ८५ हजार ८५२ मत (३.६%) पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख ३० हजार ६४९ मत (३.१%) पाउँदै थ्रेसहोल्ड कटाएको छ।

निर्वाचन प्रणालीअनुसार समानुपातिक सिट पाउन कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। यसपटक माथिका ६ दलले मात्रै उक्त सीमा पार गरेका छन्।

अब निर्वाचन आयोगले प्राप्त मतका आधारमा ११० सिटको बाँडफाँट प्रक्रिया अघि बढाउनेछ। त्यसपछि आयोगले दलहरूलाई उनीहरूले पाउने सिटको संख्या अनुसार सांसदको नाम सिफारिस गर्न पत्राचार गर्नेछ। दलहरूले समानुपातिक बन्दसूचीबाट नाम पठाएपछि आयोगले उनीहरूलाई निर्वाचित घोषणा गर्नेछ।

थ्रेसहोल्ड पार गर्न नसकेका अन्य दलहरूले भने साना–साना मत प्राप्त गरेका छन्। तीमध्ये जनता समाजवादी पार्टी, नेपाल ले १ लाख ८१ हजार ८५०, राष्ट्रिय परिवर्तन पार्टी ले १ लाख ७२ हजार ४९० र जनमत पार्टी ले ७९ हजार ४०३ मत पाएका छन्।

यससँगै प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फको मतगणना औपचारिक रूपमा सम्पन्न भएको छ भने अब ध्यान सिट बाँडफाँट र समानुपातिक सांसद घोषणातर्फ केन्द्रित भएको छ।

Leave a Comment