काठमाडौं, फागुन २९:
खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले आजदेखि उपभोक्तालाई आधा सिलिन्डर मात्रै वितरण गर्ने व्यवस्था लागू गरेको छ। पछिल्लो समय बजारमा ग्यासको अभाव देखिन थालेपछि आपूर्ति व्यवस्थापन गर्न यस्तो निर्णय गरिएको निगमले जनाएको छ।
निगमका अनुसार हालसम्म उपभोक्ताले १४.२ केजीको पूरा सिलिन्डर पाउँदै आएका थिए। तर अहिले अभाव कम गर्न ७.१ केजी अर्थात् आधा सिलिन्डर मात्रै भरेर बिक्री गरिनेछ। यसरी ग्यास वितरण गर्दा उपभोक्ताले पनि आधा मूल्य मात्र तिरे पुग्ने व्यवस्था गरिएको छ।
पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित हुँदा नेपालमा पनि ग्यास आपूर्ति व्यवस्थापनमा चुनौती देखिएको बताइएको छ। पछिल्लो डेढ महिनादेखि नै ग्यास सहज रूपमा नपाउँदा उपभोक्ताहरू उद्योगमै लाइन बस्न बाध्य भएका छन्।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बजारमा वास्तविक आपूर्तिको समस्या नभए पनि उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास स्टक गर्न थालेपछि कृत्रिम अभाव देखिएको बताए। त्यस्तो अवस्था नियन्त्रण गर्न अस्थायी रूपमा आधा सिलिन्डर वितरण गर्ने निर्णय गरिएको उनले जानकारी दिए।
यस विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, निगम तथा सम्बन्धित निकायबीच भएको छलफलपछि सञ्चालक समितिले आधा सिलिन्डर वितरणको निर्णय गरेको हो। वाणिज्य विभागले पनि तत्कालका लागि यही उपाय प्रभावकारी हुन सक्ने सुझाव दिएको जनाइएको छ।
नेपालमा हाल करिब एक करोड ५० लाख ग्यास सिलिन्डर प्रचलनमा रहेका छन्। सामान्य अवस्थामा मासिक ३१–३२ लाख सिलिन्डरसम्म माग हुने भए पनि पछिल्लो समय खपत अस्वाभाविक रूपमा बढेको उद्योगीहरूले बताएका छन्।
यद्यपि उपभोक्ता अधिकारकर्मीहरूले भने ग्यास आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित गर्न नसक्दा समस्या उत्पन्न भएको बताएका छन्। उनीहरूले दीर्घकालीन समाधान बिना आधा सिलिन्डर वितरणले मात्र समस्या पूर्ण रूपमा समाधान नहुने टिप्पणी गरेका छन्।

