काठमाडौं, फागुन २८ — बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले अब उपभोक्तालाई आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको छ।
निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले ग्यासको समान वितरण सुनिश्चित गर्न यस्तो निर्णय गरिएको जनाएको छ। निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार उपभोक्ताले आवश्यकभन्दा बढी सिलिन्डर भण्डारण गर्न थालेपछि बजारमा अभाव देखिन थालेको हो।
पछिल्लो समय ग्यास अभाव बढ्दै जाँदा उपभोक्ताले घरमा धेरै सिलिन्डर राख्ने प्रवृत्ति पनि बढेको छ। पश्चिम एसियामा बढ्दो तनाव र आपूर्ति अनिश्चित हुने आशंकाले पनि ग्यास सञ्चय गर्ने क्रम बढेको निगमको भनाइ छ।
नेपालले भारतको इन्डियन आयल निगमबाट ग्यास आयात गर्दै आएको छ। तर पछिल्लो समय मागअनुसार आपूर्ति हुन नसक्दा समस्या देखिएको छ। नेपालमा दैनिक करिब १२० बुलेट ग्यास आवश्यक पर्ने भए पनि हाल औसतमा ८० वटा बुलेट मात्रै आइरहेको बताइएको छ।
यसअघि २०७२ सालमा भारतले लगाएको नाकाबन्दीका बेला पनि उपभोक्तालाई आधा सिलिन्डर मात्रै ग्यास वितरण गरिएको थियो। अहिले पनि आपूर्ति सहज नहुँदासम्म यही व्यवस्था लागू रहने निगमले जनाएको छ।

