सुरक्षित वैदेशिक रोजगारीबारे कलैयामा अन्तरक्रिया, सेवा–सुविधा र जोखिमबारे सचेतना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

कलैया, २५ वैशाख – वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन कलैया उपमहानगरपालिकामा अभिमुखीकरण तथा सञ्चारमाध्यम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा सही सूचना, सीप र कानुनी प्रक्रियाको पालना गरेर मात्रै विदेश जानुपर्नेमा जोड दिइएको थियो।
“स्वदेशमै रोजगारी गरौं, विदेश जानै परे तयारीसहित जाऔं” भन्ने सन्देशका साथ भएको कार्यक्रममा पत्रकार, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो।
नगर प्रमुख बिनोद साहले कार्यक्रम उद्घाटन गर्दै वैदेशिक रोजगारीलाई बाध्यता होइन, विकल्पका रूपमा लिनुपर्ने बताए। उपप्रमुख रौशन प्रविणले सुरक्षित रोजगारीका लागि सही सूचना र सीप अपरिहार्य रहेको उल्लेख गरिन्। प्रमुख प्रशासकीय अधिकृत रामबिनय कुमार सिंहसहितका वक्ताहरूले विदेशमा काम गर्दा आइपर्न सक्ने जोखिम, ठगी र सरकारी राहत व्यवस्थाबारे जानकारी दिएका थिए।
नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष पन्नालाल दासले वैदेशिक रोजगारीसम्बन्धी सूचनालाई सञ्चारमाध्यमले प्राथमिकतामा राख्नुपर्ने बताए। उनले श्रम स्वीकृति लिएर र आवश्यक कागजात सुरक्षित राखेर मात्रै विदेश जानुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागीलाई एजेन्टमार्फत हुने ठगीबाट सचेत रहन आग्रह गरिएको थियो। सरकारले २०७६ सालमै एजेन्ट प्रणाली खारेज गरिसकेको भए पनि गाउँस्तरमा अझै ठगी भइरहेकाले सचेत हुन भनिएको छ। ठगीमा परेका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र (कक्ष नं. ११३) मा उजुरी गर्न अनुरोध गरिएको थियो।
कार्यक्रममा वैदेशिक रोजगारीमा जाने कामदारका लागि उपलब्ध सेवा–सुविधाबारे पनि जानकारी दिइयो। श्रम स्वीकृति लिएर विदेश गएका कामदारको मृत्यु भएमा वैदेशिक रोजगार बोर्डबाट १० लाख रुपैयाँ र बीमा कम्पनीबाट थप १० लाख रुपैयाँसम्म सहायता पाइने बताइएको छ। मृतकको शव नेपाल ल्याउने, घरसम्म पुर्‍याउने र परिवारलाई सहयोग गर्ने व्यवस्था समेत रहेको जनाइएको छ।
त्यसैगरी, मृतकका छोराछोरीलाई आधारभूत तहमा वार्षिक १२ हजार र माध्यमिक तहमा १६ हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध हुने जानकारी दिइयो। कामदार गम्भीर घाइते वा अंगभंग भएमा ७ लाख रुपैयाँसम्म राहत र क्यान्सर, मुटुरोग, मृगौला, पार्किन्सन तथा अल्जाइमरजस्ता रोग लागेमा ५० हजार रुपैयाँसम्म सहयोग प्रदान गरिने उल्लेख गरिएको छ।
विदेशमा समस्यामा परेका कामदारलाई कानुनी सहायता, उद्धार तथा क्षतिपूर्ति प्रक्रियामा आप्रवासी स्रोत केन्द्रमार्फत सहजीकरण गरिने पनि जानकारी दिइएको थियो।
सामी कार्यक्रमका संयोजक सरोज सिंहले प्रस्तुति दिएका थिए भने कार्यक्रम सञ्चालन रामबाबु सिंहले गरेका थिए।

 

Leave a Comment