चैत २, २०८२-काठमाडौं । स्ट्रेट अफ होर्मुज क्षेत्रमा बढ्दो तनावका बीच भारतले इन्धन आपूर्ति सुनिश्चित गर्न इरानसँग प्रत्यक्ष कूटनीतिक वार्ता प्रभावकारी भएको जनाएको छ।
भारतीय विदेशमन्त्री एस. जयशंकरले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा समस्या समाधानका लागि संवाद र कूटनीतिक पहल नै सबैभन्दा उपयुक्त उपाय भएको बताएका छन्। उनका अनुसार स्ट्रेट अफ होर्मुजमार्फत जहाजको सुरक्षित आवागमन कायम राख्न भारतले इरानसँग निरन्तर वार्ता गरिरहेको छ।
जयशंकरले हालसम्म भएको कूटनीतिक संवादबाट सकारात्मक परिणाम देखिन थालेको पनि उल्लेख गरेका छन्। उनका अनुसार भारततर्फ जाँदै गरेका दुई भारतीय झण्डाबाहक एलपीजी बोकेका जहाज शनिबार सुरक्षित रूपमा हर्मुज जलडमरूमध्य पार गर्न सफल भएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला राख्न चीन, फ्रान्स, बेलायत, जापान र दक्षिण कोरियालगायत देशलाई युद्धपोत पठाउन आह्वान गरेका थिए। तर भारतले सैन्य उपायभन्दा कूटनीतिक समाधानमा जोड दिएको हो।
जयशंकरले प्रत्येक देशको इरानसँगको सम्बन्ध फरक हुने भएकाले समान रणनीति लागू गर्न कठिन हुने बताएका छन्। उनले अन्य देशसँग पनि भारतले अपनाइरहेको संवादको अनुभव साझा गर्न तयार रहेको बताएका छन्।
स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति ढुवानी हुन्छ। अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि उक्त क्षेत्रमा तनाव बढेको छ।
तनावका कारण केही समयदेखि जहाजहरूको आवागमन प्रभावित भएको छ, जसले विश्व बजारमा तेल र ग्यासको आपूर्ति तथा मूल्यमा असर परेको बताइएको छ।

