धनकुटा, ४ चैत २०८२ –सोमबार राति आएको हावाहुरीले धनकुटामा सरकारी कार्यालय, विद्यालय, निजी घर र सार्वजनिक संरचनामा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरण अनुसार, हावाहुरीले २५ लाख ५ हजार रुपैयाँ बराबरको नोक्सानी गराएको प्रहरीले जनाएको छ।
धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानप्रसाद महतोका अनुसार, सरकारी संरचनामा सबैभन्दा बढी आयुर्वेद केन्द्र र सरकारी वकिलको कार्यालयमा १५ लाख ५० हजार रुपैयाँको क्षति भएको छ। विद्यालयमा चार लाख र निजी घर तथा गोठमा पाँच लाख ५५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।
सदरमुकाममा विद्युत सेवा अवरुद्ध
हावाहुरीका कारण धनकुटाको विद्युत सेवा ३६ घण्टादेखि अवरुद्ध छ। नेपाल विद्युत प्राधिकरण, धनकुटा वितरण केन्द्रका अनुसार भेडेटार, हिले, पाख्रीबास र मूलघाट क्षेत्रमा विद्युत सेवा आंशिक रूपमा पुनः सञ्चालन भएको छ।
तर धनकुटा बजार क्षेत्रमा ३३ केभी प्रसारण लाइनको पोल ढल्दा र सातवटा पोल भाँचिँदा विद्युत सेवा अझै अवरुद्ध रहेको छ। वितरण केन्द्रले क्षतिग्रस्त संरचना मर्मत गर्दै विद्युत सेवा पुनः सञ्चालन गर्ने प्रयास जारी राखेको जनाएको छ।

