काठमाडौं, वैशाख ३ — संघीय संसद्अन्तर्गत रहेका संसदीय समितिहरूको सभापति चयन प्रक्रिया आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। यसअन्तर्गत आज उम्मेदवारहरूको मनोनयन दर्ता गरिने भएको छ।
संघीय संसद् सचिवालयका अनुसार मनोनयन दर्ताका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरिएको छ। मनोनयनपत्र सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा दर्ता गर्न सकिनेछ।
मनोनयन दर्ता प्रक्रिया सकिएलगत्तै दिउँसो साढे ४ बजे उम्मेदवारहरूको नामावली सार्वजनिक गरिने कार्यक्रम तय गरिएको छ। प्रतिनिधिसभाअन्तर्गत १० वटा विषयगत समिति तथा दुई संयुक्त समितिमा सभापति चयन हुन बाँकी रहेको छ।
सभापतिको निर्वाचन भने भोलि हुने छ। शुक्रबार अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेदवार प्रस्ताव गर्ने, समर्थकले समर्थन जनाउने र त्यसपछि निर्णयका लागि प्रस्ताव प्रस्तुत गरिनेछ।
यसअघि चैत २७ गते बसेको प्रतिनिधिसभा बैठकले विषयगत समितिहरूमा रहने सदस्यहरूको टुंगो लगाएको थियो। सोही बैठकमा सभामुख डोलप्रसाद अर्यालले वैशाख ४ गतेलाई सभापति निर्वाचनको मिति तोकेका थिए।
प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, र उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिहरू रहेका छन्।
यस्तै, संयुक्त समितिहरू अन्तर्गत संसदीय सुनुवाइ समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति पनि रहेका छन्।
संसदीय समितिका सभापति चयन प्रक्रिया सुरु, आज मनोनयन दर्ता
Leave a Comment
Leave a Comment

