निर्वाचनको समग्र प्रतिवेदन बिहीबार राष्ट्रपतिसमक्ष बुझाइने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

चैत ४, २०८२, काठमाडौं-गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ।

आयोगका अनुसार बिहान ११:३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरिनेछ। त्यसपछि दिउँसो राष्ट्रपति समक्ष निर्वाचनको अन्तिम प्रतिवेदन पेश गरिने कार्यक्रम रहेको छ।

आयोगले सोही दिन बेलुकी ५:३० बजे केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने तयारी पनि गरेको जनाएको छ।

निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएपछि नेपालको संविधान २०७२ को धारा ७६(१) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद निर्वाचित भएका छन्।

समानुपातिकतर्फ रास्वपाबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपाबाट ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाबाट ४/४ जना सांसद निर्वाचित भएका छन्।

प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितेको छ भने कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ तथा राप्रपा र स्वतन्त्र उम्मेदवारले १/१ सिट जितेका छन्।

प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट गरी कुल २७५ सदस्य रहने व्यवस्था छ।

Leave a Comment