९ फागुन २०८२, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा मा भएका सरकारविरोधी प्रदर्शनहरूमा ३२ हजार मानिसको मृत्यु भएको दाबी गरेका छन्। उनले शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा पहिलो पटक यस्तो संख्या सार्वजनिक गरेका हुन्।
पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, “इरानका नागरिक आफ्ना नेताहरूभन्दा फरक छन् र अत्यन्तै दुःखद् अवस्थामा छन्। त्यहाँ छोटो समयमा ३२ हजार नागरिक मारिएका छन्। उनीहरूले उचित सम्झौता गर्न आवश्यक छ।”
ट्रम्पले इरान सरकारले ८३७ जनालाई फाँसी दिने निर्णय गरेको दाबी गर्दै अमेरिकाको चेतावनीपछि उक्त निर्णय रोकिएको पनि बताए। उनका अनुसार, “यदि एक जनालाई पनि फाँसी दिइयो भने तुरुन्त निशाना बनाइनेछ भन्ने चेतावनी दिएपछि इरानले फाँसी रोक्यो।”
पत्रकारहरूले इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीबारे सोध्दा ट्रम्पले आवश्यक परे “सीमित सैन्य विकल्प” प्रयोग गर्न सकिने संकेत गरेका थिए।
ट्रम्पको दाबीबारे इरानी अधिकारीहरूले औपचारिक प्रतिक्रिया दिएका छैनन्।

