पाल्पा, चैत ८, २०८२ — पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
लु.२ ख ४५२५ नम्बरको टिपर गएराति माथागढी गाउँपालिका–७ रहबास क्षेत्रमा सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा ज्यान गएको हो।
मृत्यु हुनेहरूमा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी, अर्घाखाँची शीतगंगा–४ का चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देही देवदह–२ का २६ वर्षीय सुनिल नेपाली रहेका छन्।
प्रहरीका अनुसार शनिबार साँझ करिब साढे ६ बजेतिर झडेवाबाट रहबासतर्फ चुनढुंगा खानी जाँदै गरेको खाली टिपर अनियन्त्रित भई दुर्घटनामा परेको हो।
घाइते भएका राजन चिदीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

