२१ फागुनको निर्वाचनअघि नयाँ दल दर्ता हुँदैन : निर्वाचन आयोग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

३ माघ २०८२, शनिबार | काठमाडौं
निर्वाचन आयोगले २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर अब नयाँ राजनीतिक दल दर्ता गर्न नसकिने स्पष्ट पारेको छ। निर्वाचनको प्रक्रिया निर्णायक चरणमा प्रवेश गरिसकेको अवस्थामा नयाँ दललाई सहभागी गराउनु व्यवहारिक र कानुनी दुवै रूपमा सम्भव नहुने आयोगको निष्कर्ष छ।

आयोगका एक पदाधिकारीका अनुसार पछिल्लो निर्णय नेपाली कांग्रेस विभाजन भएको ठहर होइन, विशेष महाधिवेशन विधानसम्मत छ कि छैन भन्ने विषयमा गरिएको वैधता परीक्षण मात्र हो। “कांग्रेस दुई खेमामा देखिए पनि आयोग दल विभाजनको प्रक्रियामा प्रवेश गरेको होइन,” ती पदाधिकारीले बताए, “विशेष महाधिवेशन विधानअनुसार भएको हो कि होइन भन्ने प्रश्नमा मात्र निर्णय गरिएको हो।”

उनले आयोगको निर्णयलाई आधार बनाएर कांग्रेस विभाजन भएको अर्थ लगाउन नहुने जिकिर गरे। शुक्रबार गरिएको निर्णयका कारण निर्वाचन प्रक्रियामा कुनै अवरोध नपर्ने पनि आयोगको भनाइ छ।

आयोगका उच्चपदस्थ अधिकारीका अनुसार कांग्रेसले समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसकेको छ भने दुई दिनपछि प्रत्यक्षतर्फको मनोनयन प्रक्रिया सुरु हुँदैछ। यस्तो अवस्थामा नयाँ दल दर्ता गरी उसलाई निर्वाचन प्रक्रियामा समेट्नु सम्भव नहुने उनको स्पष्टोक्ति छ।

“अब त खेल सुरु भइसकेपछि नयाँ खेलाडी म पनि दौडिन्छु भनेर मैदानमा छिर्न खोजेजस्तो हुन्छ,” ती अधिकारीले भने।

निर्वाचन आयोगले निर्वाचनको समयतालिका अनुसार अघि बढ्न सबै दल र पक्षलाई आग्रह गर्दै हालको निर्णयले चुनावी प्रक्रियालाई थप स्पष्टता दिएको दाबी गरेको छ।

Leave a Comment