अस्पताल निर्माण अलपत्र पारेपछि ठेकेदारको गाडी नियन्त्रणमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

खोटाङ, चैत ९ — खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पताल भवन निर्माण अलपत्र पारेको आरोपमा ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ।

नगरपालिकाले हलेसी तुवाचुङ–७ महादेवस्थानमा निर्माणाधीन १५ शय्याको अस्पताल भवन समयमै पूरा नगरेपछि नमुना/हिमालयन जेभीसँग आबद्ध ठेकेदार रमेश बस्नेतको बागमती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नियन्त्रणमा लिएको हो।

नगरप्रमुख बिमला राईका अनुसार चैत ८ गतेदेखि गाडी, साँचो र सवारी दर्ता प्रमाण–पत्र नियन्त्रणमा राखिएको छ। ठेक्का अनुसार आवश्यक सामग्री र जनशक्ति परिचालन नगरेसम्म नियन्त्रण कायम रहने बताइएको छ।

२०७८ साउन ८ गते सम्झौता भई २०८० साउन ८ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पताल भवन हालसम्म जगभन्दा माथि उठ्न सकेको छैन। निर्माणको पहिलो चरणसमेत पूरा नभएको, पटक–पटक निर्देशन दिँदा पनि काम अघि नबढेपछि यस्तो कदम चालिएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख राईले ठेकेदार पक्षलाई अब निश्चित समयसीमा तोकेर काम अघि बढाउन बाध्य बनाइएको बताइन्। नगरपालिकासँग गरिएको प्रतिबद्धता अनुसार चैत १२ गतेदेखि काम सुरु गरी ४५ दिनभित्र बेसमेन्ट ढलान, त्यसपछि क्रमशः पहिलो र दोस्रो तलाको स्ल्याब निर्धारित समयमा पूरा गर्नुपर्नेछ।

उक्त समयसीमा पालना नगरे कानुनी कारबाही भोग्नुपर्ने र उजुरी नगर्ने सहमति समेत गराइएको नगरपालिकाको भनाइ छ।

नगरपालिकाले यस विषयमा जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराइसकेको छ।

स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत २०७७ मंसिर १५ गते शिलान्यास गरिएको उक्त आयोजना सुरुदेखि नै समस्या झेल्दै आएको थियो। डीपीआर र जग्गा व्यवस्थापनमा देखिएको विवादका कारण निर्माण प्रक्रिया प्रभावित भएको थियो।

अस्पतालका लागि स्थानीयवासीबाट करिब नौ रोपनी जग्गा निःशुल्क उपलब्ध गराइए पनि नक्सा र जग्गाको यकिनमा त्रुटि हुँदा निर्माणमा थप जटिलता उत्पन्न भएको थियो।

Leave a Comment