एमालेको नयाँ नेतृत्वका लागि आज मतदान अध्यक्षमा ओली–पोखरेल प्रतिस्पर्धा, महासचिवमा शंकर र सुरेन्द्र आमनेसामने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, १ पुस २०८२
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको भृकुटीमण्डपमा मतदान हुँदैछ। मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म चल्ने मतदान विद्युतीय मेसिनमार्फत् हुनेछ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा छ। महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार रहेका छन्।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ। कुल २ हजार २६३ प्रतिनिधि मतदानमा सहभागी हुनेछन्। मतदान सम्पन्न भएपछि भृकुटीमण्डपमै मतगणना, परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहण कार्यक्रम गरिनेछ।

ईश्वर समूह उत्साहित, ओली समूहमा असन्तुष्टि

महाधिवेशनको क्रममा ओली समूहभित्र देखिएको असन्तुष्टि र बागी उम्मेदवारीका कारण ईश्वर पोखरेल समूह उत्साहित देखिएको छ। पदाधिकारी संख्या बढाउने ओलीको प्रयासका बाबजुद आफ्नै समूहका नेताहरूलाई मिलाउन कठिन भएको ओली निकट नेताहरू स्वीकार गर्छन्।

ओली समूहबाटै प्रदीप ज्ञवाली, अग्नि खरेल, रघुजी पन्त, भीम आचार्यलगायत नेताहरूले पदाधिकारीमा बागी उम्मेदवारी दिएपछि शक्ति सन्तुलनमा परिवर्तन आएको विश्लेषण गरिएको छ। यसबाट पोखरेल समूहलाई संगठनात्मक रूपमा लाभ पुगेको बताइन्छ।

पोखरेल समूहले समावेशी र क्षेत्रीय सन्तुलन मिलाइएको दाबी गर्दै राजधानी र विभिन्न समुदायमा प्रभाव रहेका नेताहरूलाई आफ्नो प्यानलमा समेट्न सफल भएको जनाएको छ।

१४ जना निर्विरोध निर्वाचित

यसअघि एमालेको अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १४ जना पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन्। केन्द्रीय सदस्यमा विभिन्न क्लस्टरबाट पनि केही उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

आजको मतदानले एमालेको भावी नेतृत्व मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक दिशा पनि निर्धारण गर्ने अपेक्षा गरिएको छ।

Leave a Comment