काठमाडौँ, १२ चैत — प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकालको अन्त्यतिर देशलाई निर्वाचनसम्म पुर्याउनु मुख्य उपलब्धि रहेको बताउँदै आशावादी भावका साथ पदबाट विदा हुने घोषणा गरेकी छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आन्दोलनपछिको असहज अवस्थालाई सामान्य बनाउँदै शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि सफल भएको उल्लेख गरिन्। छोटो अवधिमा काम गर्नुपर्दा सबै अपेक्षा पूरा गर्न नसकिए पनि महत्वपूर्ण आधार तयार गरिएको उनको भनाइ छ।
प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबै निकाय, सुरक्षा बल, कर्मचारी, राजनीतिक दल र नागरिकप्रति धन्यवाद व्यक्त गरिन्। संकटका बेला देश एकजुट हुन सक्ने क्षमता फेरि प्रमाणित भएको उनले बताइन्।
उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रणाली सुधारतर्फ केही महत्वपूर्ण काम सुरु गरिएको जनाउँदै बाँकी कार्य नयाँ सरकारले अगाडि बढाउने विश्वास व्यक्त गरिन्।
नवनिर्वाचित सांसदहरूलाई शुभकामना दिँदै उनले अब बन्ने सरकारले देशलाई स्थायित्व, विकास र रोजगारीतर्फ अघि बढाउने अपेक्षा राखिन्।
प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालप्रति जनताले मूल्यांकन गर्ने बताउँदै इमानदारीका साथ काम गरेको दाबी गरिन्। उनले अब नयाँ जनादेशअनुसार सरकार गठन हुने प्रक्रिया सुरु भइसकेको र देश सकारात्मक दिशातर्फ अघि बढ्ने विश्वास व्यक्त गरिन्।

