१७ चैत, काठमाडौं। दक्षिण लेबनानमा सोमबार संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
लेबनानस्थित युनिफिल (संयुक्त राष्ट्र अन्तरिम शान्ति सेना) का अनुसार दक्षिणी लेबनानको बानी हय्यान गाउँ नजिकै भएको विष्फोटले शान्ति सैनिक सवार गाडीलाई क्षति पुर्याएको थियो। युनिफिलले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै भनेको छ, “शान्ति सेवामा खटिँदा कसैले पनि ज्यान गुमाउन नपरोस्।”
यो घटनाअघि आइतबार पनि दक्षिणी लेबनानको अल–कुसायर नजिकै युनिफिलको पोष्टमाथि आक्रमण हुँदा एक शान्ति सैनिकको मृत्यु भएको थियो। सोही क्रममा माइस–अल–जबाल क्षेत्रमा नेपाली शान्ति सैनिक रहेको कमाण्ड पोष्टमा पनि आक्रमण भएको थियो। यसमा मानवीय क्षति नभए पनि केही व्यक्तिगत सामानमा क्षति पुगेको थियो।
सोमबारको आक्रमणमा मृत्यु हुने दुईमध्ये एक जना इन्डोनेसियाका नागरिक भएको पुष्टि भएको छ। इन्डोनेसियाको विदेश मन्त्रालयले मृतक सैनिक आफ्नै नागरिक भएको जानकारी दिएको छ। त्यस्तै, अन्य तीन इन्डोनेसियाली सैनिक घाइते भएका छन्।
इन्डोनेसियाले घटनाको कडा निन्दा गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको छ। साथै, दक्षिण लेबनानमा इजरायलको आक्रमण रोक्न, लेबनानको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्न आह्वान गरेको छ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्। फ्रान्सले युनिफिलमाथि भएको आक्रमणबारे सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको छ भने स्पेन र आयरल्याण्डका नेताहरूले पनि घटनाको कडा निन्दा गरेका छन्।
पछिल्ला घटनाहरू इजरायलले दक्षिण लेबनानमा स्थल आक्रमण बढाएको समयमा भएका हुन्। लेबनान स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ हजार २०० भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ भने १२ लाखभन्दा बढी विस्थापित भएका छन्। अलजजिराका रिपोर्टअनुसार, स्थल आक्रमणसँगै हिंसात्मक घटनाहरू तीव्र बन्दै गएको छ।

