मधेश राजनीतिमा पुनर्मिलनको संकेत: उपेन्द्र–महन्थ फेरि एउटै मञ्चमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, १४ पुस २०८२ । तराई–मधेशको राजनीतिमा लामो समयदेखि छुट्टाछुट्टै बाटो हिँडिरहेका दुई प्रमुख शक्ति फेरि एक ठाउँमा उभिएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आइतबार साँझ औपचारिक रूपमा एकता घोषणा भएको छ।

समानुपातिकतर्फको बन्दसूची बुझाउने समयसीमा सकिन एक दिन बाँकी रहँदा भएको यो एकताले मधेशको चुनावी राजनीतिलाई नयाँ मोड दिने संकेत गरेको छ। महन्थ ठाकुर नेतृत्वको लोसपा र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबीच केही महिनादेखि आन्तरिक गृहकार्य चलिरहेको थियो।

नाम टुंगिन बाँकी, चिन्ह ‘छाता’ पक्का

एकीकृत पार्टीको नाम र औपचारिक नेतृत्व संरचना अझै सार्वजनिक नगरिए पनि चुनाव चिन्हमा भने सहमति भइसकेको छ। नेताहरूका अनुसार आगामी निर्वाचनमा एकीकृत पार्टीले ‘छाता’ चिन्ह प्रयोग गर्नेछ।

नेता मनिष सुमनका अनुसार सोमबार नै यही चिन्हमा समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइने तयारी छ। २०७७ सालमा पनि यी दुई दल एक हुँदा छाता नै चुनाव चिन्ह थियो।

समान हैसियतमा उपेन्द्र र महन्थ

एकता घोषणासँगै नेतृत्वको सवालमा पनि सहमति जुटेको नेताहरू बताउँछन्। सहमतिअनुसार उपेन्द्र यादव र महन्थ ठाकुर दुवै समान हैसियतका अध्यक्ष रहनेछन्। पार्टी संरचना, समिति एकीकरण र उम्मेदवार छनोटमा पनि दुवै पक्षको बराबर सहभागिता सुनिश्चित गर्ने समझदारी भएको छ।

विगतको विभाजन, चुनावी क्षति

२०७९ सालको निर्वाचनमा जसपा र लोसपा छुट्टाछुट्टै गठबन्धनमा जाँदा मधेशमा उनीहरूको प्रभाव कमजोर देखिएको थियो। जसपाले एमालेसँग गठबन्धन गरेको थियो भने लोसपा कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनमा सहभागी भएको थियो। परिणामस्वरूप मधेशमा एमाले र कांग्रेसको वर्चस्व स्थापित भयो।

नेताहरू स्वीकार गर्छन्—त्यही नतिजाले पुनः एकताको आवश्यकता स्पष्ट पारेको हो।

‘जेनजी आन्दोलन’ले थप बल

एकताका लागि सामाजिक दबाबसँगै पछिल्लो समय देखिएको जेनजी आन्दोलनले पनि भूमिका खेलेको नेताहरूको भनाइ छ। यद्यपि, उनीहरूका अनुसार एकता आकस्मिक होइन, दीगो बनाउने उद्देश्यसहित लामो तयारीपछि अघि बढाइएको हो।

थप एकताको प्रयास जारी

जसपा–लोसपाको एकतासँगै मधेशका अन्य राजनीतिक शक्तिसँग पनि सहकार्यको ढोका खुला राखिएको छ। विशेषगरी सीके राउत नेतृत्वको शक्तिसँग संवाद भइरहेको नेताहरूले बताएका छन्।

Leave a Comment