बालेन प्रधानमन्त्री बने, १५ सदस्यीय मन्त्रिपरिषद्ले लिए शपथ, ५ महिला मन्त्री समावेश

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, १३ चैत २०८२ — राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बालेन्द्र शाह (बालेन) लाई नेपालको प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका छन्। शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीसहित १४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा ७६(१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेता बालेनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। संविधान जारी भएपछि उक्त धाराअनुसार प्रधानमन्त्री नियुक्त भएको यो पहिलो पटक हो। साथै, मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने पनि यो पहिलो अवसर हो।

३६ वर्षीय बालेन काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ मा सम्पन्न निर्वाचनमार्फत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। झापा क्षेत्र नम्बर ५ बाट उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गरेका थिए।

प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय समेत आफैं सम्हालेका छन्। मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृह मन्त्री र शिशिर खनाल परराष्ट्र मन्त्री बनेका छन्।

यस्तै, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री र खड्कराज पौडेल (गनेश) पर्यटन मन्त्री बनेका छन्। सस्मित पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालय सम्हालेका छन्।

निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, विक्रम तिमिल्सिना सञ्चार मन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, दीपक साह श्रम मन्त्री र सोविता गौतम कानून मन्त्री बनेका छन्।

त्यसैगरी गीता चौधरी कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री र सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन्।

१५ सदस्यीय मन्त्रिपरिषद्मा ५ जना महिला मन्त्री समावेश भएका छन्, जसले करिब ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ।

शपथ ग्रहण समारोहमा वैदिक तथा बौद्ध परम्पराअनुसार स्वस्तिवाचन र मंगलवाचन गरिएको थियो।

Leave a Comment