एसइईको तयारी पूरा : परीक्षा अनुगमनमा रोक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१३ चैत,भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको जनाएको छ। बोर्डका अनुसार देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८:०० बजेदेखि एकै समयमा परीक्षा सुरु हुनेछ।

चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षामा यसवर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन्। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना सहभागी हुनेछन्। परीक्षार्थीमध्ये छात्राको संख्या बढी रहेको छ। कुल २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना सहभागी हुनेछन्। जापानको एक केन्द्रबाट २३ जनाले परीक्षा दिनेछन्।

प्रदेशअनुसार सहभागी संख्या यस्तो छ: कोशीबाट ८२,४८७, मधेसबाट ९०,२४३, बागमतीबाट १,०९,५१३, गण्डकीबाट ४३,९७२, लुम्बिनीबाट ९१,८०२, कर्णालीबाट ३९,७६९ र सुदूरपश्चिमबाट ५४,६३५ जना। देशभर १,९६६ परीक्षा केन्द्र तोकिएका छन् र ११,३७९ विद्यालयका विद्यार्थी सहभागी हुनेछन्।

परीक्षा तालिका
चैत १९ – अनिवार्य अंग्रेजी
चैत २० – अनिवार्य नेपाली
चैत २२ – अनिवार्य गणित
चैत २३ – विज्ञान तथा प्रविधि
चैत २४ – सामाजिक अध्ययन
चैत २५ – ऐच्छिक प्रथम खण्ड
चैत २६ – ऐच्छिक द्वितीय खण्ड
चैत २७, २८ र २९ – प्राविधिक धारका विषयहरू

अनुगमनमा रोक
यसवर्ष परीक्षा अनुगमनका नाममा विभिन्न समूहको प्रवेशले विद्यार्थीलाई अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको छ। अब अनुगमन जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले केन्द्र बाहिरबाट मात्र गर्नेछन्।

पत्रकारले पनि बाहिरी दृश्य मात्र खिच्न पाउनेछन्। परीक्षा हलभित्र केन्द्राध्यक्ष र खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न पाउने व्यवस्था गरिएको छ। परीक्षा हलभित्रका दृश्य सामाजिक सञ्जालमा नराख्न पनि आग्रह गरिएको छ।

प्रश्नपत्र वितरण
सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ गरी सुरक्षा निकायको सहयोगमा वितरण गरिएको हो। सातै प्रदेशका लागि फरक प्रश्नपत्र तयार गरिएको छ। यदि प्रश्नपत्र बाहिरिएमा सम्बन्धित प्रदेशको मात्र परीक्षा रद्द गरेर पुनः सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

Leave a Comment