एसईई सुरु, सामूहिक अनुगमन निषेध

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, चैत १९ — माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेदेखि देशभर एकैपटक सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको जनाएको छ। परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

यस वर्ष कुल पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन्। परीक्षार्थीमध्ये छात्राको संख्या बढी रहेको छ। जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जनाले पनि परीक्षा दिइरहेका छन्।

देशभर एक हजार ९६६ परीक्षा केन्द्र तोकिएको छ। प्रत्येक केन्द्रमा १५ जना प्रहरीसहित आवश्यक जनशक्ति परिचालन गरिएको छ।

यस वर्षदेखि उत्तरपुस्तिका परीक्षण सम्बन्धित केन्द्रबाटै गरिने र एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

परीक्षा केन्द्रमा अवरोध हुने गुनासोपछि यस वर्ष सामूहिक अनुगमनमा रोक लगाइएको छ। अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ।

परीक्षा तालिका अनुसार चैत २० गते नेपाली, २२ गते गणित, २३ गते विज्ञान, २४ गते सामाजिक, २५ र २६ गते ऐच्छिक विषय तथा २७ देखि २९ गतेसम्म प्राविधिक धारका विषयहरूको परीक्षा हुनेछ।

Leave a Comment