काठमाडौं, २० चैत २०८२ । ज्यान सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रहरीले अस्पतालमै बयान लिएको छ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीसँग बिहीबार र शुक्रबार प्रहरी तथा सरकारी वकिलको टोलीले बयान लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। बयान अझै बाँकी रहेकाले थप म्याद माग्ने तयारी भइरहेको छ।
बयानका क्रममा ओलीले जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोप अस्वीकार गरेका छन्। उनले हुलदंगा नियन्त्रण गर्ने विषय प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र नपर्ने बताए। उनका अनुसार यस्तो निर्णय जिल्ला सुरक्षा समितिले गर्ने हो।
ओलीले आन्दोलन शान्तिपूर्ण हुने जानकारीका आधारमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन मात्र निर्देशन दिएको बताएका छन्। उनले सरकारको उद्देश्य मानवीय क्षति हुन नदिनु रहेको पनि उल्लेख गरेका छन्।
प्रहरी र सरकारी वकिलले करिब ४० वटा प्रश्न सोध्दा उनले सबैमा आरोप अस्वीकार गरेका छन्। साथै आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि बाहिरी घुसपैठ समूहबाट भएको उनको दाबी छ।

