२६ चैत २०८२, बिहीबार,धनगढी -कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएपछि १५ जनालाई बाँकेको नौबस्ता कारागारमा स्थानान्तरण गरिएको छ। बुधबार आपसी विवादका कारण दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका थिए।
कारागार प्रशासनका अनुसार घाइतेमध्ये तीन जनासहित १५ जनालाई सोही दिन नौबस्ता पठाइएको हो। जेलर हेमन्ती साउँदले प्रक्रिया पूरा गरेर स्थानान्तरण गरिएको बताएकी छन्।
स्थानान्तरण गरिएकामध्ये भुवन नाथ, भुवन ऐर र प्रकाश घरेडी रहेका छन्। झडपमा घाइते भएका अन्य दुई जना दाजु दमाई र आयुष बम भने कञ्चनपुरमै उपचारपछि डिस्चार्ज भएका छन्।
यसअघि पनि गत पुसमा कारागारभित्र झडप भएको थियो। त्यतिबेला मदिरा तथा लागूऔषध भित्र्याउने र कारोबारको विषयमा विवाद भएको बताइएको थियो।
तर पछिल्लो घटनाबारे कारागार प्रशासनले आपसी विवादकै कारण झडप भएको जनाएको छ। अनुगमनका क्रममा अन्य अवैध गतिविधि पुष्टि नभएको पनि बताइएको छ।
कारागारमा चौकीदारको अभाव पनि झडपको कारण मानिएको छ। चौकीदार सरुवा भएपछि नयाँ नियुक्ति नभएकाले कैदीबन्दीबीच समूहगत विवाद बढेको बताइएको छ।
यसअघि झडपपछि ९ जनालाई पनि अन्य कारागारमा स्थानान्तरण गरिएको थियो। प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार पछिल्लो र अघिल्लो झडपका कारण फरक रहेका छन्। हाल कारागारको अवस्था सामान्य रहेको जनाइएको छ।






