आज केही स्थानमा वर्षा र हिमपात

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत २९ — हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावका कारण देशका विभिन्न भागमा आंशिक बदली भएको छ। पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली भेगमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहनेछ। कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्र तथा बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

वर्षा तथा हिमपात हुने सम्भावना रहेका स्थानका सर्वसाधारण तथा यातायात सञ्चालनकर्तालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a Comment