पाकिस्तानमा इरान र अमेरिकाबिच १४ घण्टा वार्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, चैत २९, २०८२ (आइतबार)

पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबिच झन्डै १४ घण्टा लामो वार्ता भएको छ। शनिबार अपराह्नदेखि आइतबार बिहानसम्म दुई चरणमा गरिएको छलफल अहिलेका लागि सकिएको जनाइएको छ।

इरानी सरकारका अनुसार वार्ताका क्रममा केही विषयमा मतभेद कायमै रहे पनि संवाद प्रक्रिया भने रोकिएको छैन। यद्यपि, अर्को चरणको वार्ता कहिले सुरु गर्ने भन्नेबारे अझै टुंगो लागेको छैन।

इरानी सरकारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै पहिलो चरणको वार्ता हालका लागि स्थगित गरिएको जनाएको छ। दुवै देशका प्रतिनिधिमण्डलबीच मस्यौदा तथा आवश्यक कागजात आदानप्रदान भएको पनि उल्लेख गरिएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इरानको सरकारी टेलिभिजनका एक संवाददाताले वार्ता आइतबार पनि जारी रहने संकेत दिएका छन्।

वार्तामा अमेरिकातर्फबाट उपराष्ट्रपति जेडी भान्सले नेतृत्व गरिरहेका छन् भने इरानतर्फबाट संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ सहभागी छन्।

यसैबीच, इरानले लेबननमा जारी इजरायलको आक्रमण तत्काल रोक्न माग गरेको छ।

Leave a Comment