कात्तिक १३, २०८२, काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल आउँदो कात्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन्। सत्ता गठबन्धनमा सहभागी दलहरूको बुधबार जनकपुरमा बसेको बैठकले यो निर्णय गरेको हो।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनललाई असोज २९ गते पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको थियो। कानुनअनुसार मुख्यमन्त्रीले नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनैपर्छ।
लोसपाका महासचिव परमेश्वर साहका अनुसार, अहिले नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीले पनि सोनललाई समर्थन जनाएका छन्। यी दुई दलका एक–एक सांसद मधेस प्रदेशसभामा छन्। बुधबारको बैठकमा नागरिक उन्मुक्तिकी सांसद प्रमिला देवी सिंह र संघीय समाजवादीकी सांसद विमला अन्सारी उपस्थित थिइन्।
यसरी, कांग्रेस (२२ सांसद) र एमाले (२३ सांसद) बाहेक सबै दलले सोनलको पक्षमा मत दिएको छ।
सोनलले असोज ३० गते पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए। शपथ ग्रहणकै दिन दुई मन्त्री नियुक्त भए पनि मन्त्रिपरिषद् अझै विस्तार गरिएको छैन। महासचिव साहका अनुसार, मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
स्रोतका अनुसार गठबन्धनका दलबीच प्रारम्भिक सहमति यसरी भएको छ:
जसपा नेपाल – ४ मन्त्रालय
जनमत पार्टी – ३ मन्त्रालय
माओवादी केन्द्र – २ मन्त्रालय
नेकपा (एकीकृत समाजवादी) – २ मन्त्रालय
लोसपाबाट मुख्यमन्त्री बनेकाले सो दललाई थप मन्त्रालय नदिने सम्भावना छ।
यद्यपि, जनमत पार्टीमा आन्तरिक विवादका कारण दुई सांसद फरक दलतिर लागेका छन्। तर मुख्यमन्त्री सोनलले सरकार सञ्चालनमा कुनै बाधा नपर्ने दाबी गरेका छन्।



Leave a Reply