केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा बढ्दो गर्मी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । देशमा हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ। हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी भेगमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहेको मौसमविद्हरूले जनाएका छन्।
हाल जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि यस्तै खालको मौसमको प्रभाव पर्ने अनुमान गरिएको छ।
आज राति पनि हिमाली क्षेत्रसहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
यसैबीच, देशका अधिकांश स्थानमा तापक्रम बढ्दो क्रममा रहेको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा अन्य क्षेत्रको तुलनामा बढी गर्मी महसुस हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मौसममा देखिएको यो मिश्रित अवस्थाले एकातिर पहाडी क्षेत्रमा वर्षा र हिमपातको संकेत देखाएको छ भने अर्कोतर्फ तराई क्षेत्रमा गर्मी थप बढ्ने संकेत गरेको छ।

Leave a Comment