काठमाडौं । इजरायल र लेबनानबीच १० दिनका लागि अस्थायी युद्धविराम लागू भएको छ। बिहीबार रातिदेखि लागू भएको यो सहमतिलाई पछिल्ला दशकयताकै महत्वपूर्ण कूटनीतिक उपलब्धि मानिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले युद्धविराम घोषणा गर्दै ३४ वर्षपछि भएको औपचारिक वार्ताको परिणाम भएको बताएका छन्। उनले यो अवधिलाई दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने ‘टेस्टिङ पिरियड’ का रूपमा उल्लेख गरेका छन्। सहमति कार्यान्वयन सफल भए दीर्घकालीन शान्तिको सम्भावना बढ्ने संकेत गरिएको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जोसेफ औन र बेन्जामिन नेतन्याहुसँग सकारात्मक संवाद भएको जानकारी दिँदै यसलाई आफ्नो कूटनीतिक सफलतामध्ये एकका रूपमा प्रस्तुत गरेका छन्।
यसअघि वासिङ्टन डी.सी. मा दुवै देशका प्रतिनिधिबीच भेटवार्ता भएको थियो, जुन सन् १९८३ पछिको पहिलो महत्वपूर्ण प्रत्यक्ष संवाद मानिन्छ। ट्रम्पले दुवै देशका नेतालाई ह्वाइट हाउस मा निमन्त्रणा गर्ने पनि बताएका छन्।
लेबनानका राष्ट्रपति औनले युद्धविरामका लागि पहल गरेको भन्दै ट्रम्पप्रति आभार व्यक्त गरेका छन्। उनले क्षेत्रीय स्थायित्वका लागि प्रयास जारी राख्ने प्रतिबद्धता दोहोर्याएका छन्। साथै, लेबनान सरकारले हिजबुल्लाह लाई शान्तिपूर्ण रूपमा हतियार त्याग्न प्रेरित गर्ने प्रयास गरिरहेको जनाएको छ।
उता, हिजबुल्लाह नेता हसन फदलल्लाह ले इजरायलले शत्रुतापूर्ण गतिविधि पूर्ण रूपमा रोकेको खण्डमा मात्र आगामी कदम तय हुने संकेत दिएका छन्।
यो युद्धविरामले मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने आशा जगाएको छ भने आगामी दिनमा यसको पालना नै स्थायी शान्तिको आधार बन्ने अपेक्षा गरिएको छ।
इजरायल–लेबनानबीच १० दिने युद्धविराम, स्थायी शान्तिको संकेत
Leave a Comment
Leave a Comment

