काठमाडौं, पुस १४, २०८२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फ्लोरिडामा भएको भेटवार्ताले युक्रेन–रुस युद्ध अन्त्यतर्फ नयाँ आशा जगाएको छ। भेटपछि दुवै नेताले वार्तालाई सकारात्मक मूल्यांकन गर्दै ‘उत्कृष्ट’ र ‘शानदार’ भएको प्रतिक्रिया दिएका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीका अनुसार प्रस्तावित २० बुँदे शान्ति योजनामध्ये करिब ९० प्रतिशत विषयमा सहमति जुटिसकेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि युक्रेनको सुरक्षासम्बन्धी ग्यारेन्टीका विषयमा ९५ प्रतिशतसम्म समझदारी भइसकेको दाबी गरेका छन्।
तर सबै विषय टुंगिएको भने छैन। ट्रम्पका अनुसार अझै ‘एक–दुई अत्यन्तै जटिल मुद्दा’ बाँकी छन्, जसमा भू–भाग (जमिन) सम्बन्धी प्रश्न सबैभन्दा कठिन बनेको छ। डोनबास क्षेत्रमा फ्री–ट्रेड जोन स्थापना गर्ने प्रस्तावमा पनि तत्काल सहमति जुट्न सकेको छैन।
पत्रकार सम्मेलनका क्रममा युक्रेनको पुनर्निर्माणमा रुसको भूमिका रहने कि नहुने भन्ने प्रश्न उठ्दा ट्रम्पले रुस पनि सहयोग गर्न तयार रहेको दाबी गरे। उनका अनुसार रुसले युक्रेनको सफल भविष्य चाहेको संकेत देखाएको छ।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘उदार’ भन्दै युक्रेनलाई सस्तो दरमा ऊर्जा, बिजुली तथा अन्य आवश्यक वस्तु आपूर्ति गर्न सकिने संकेत पनि दिए। तर पुटिन तत्काल युद्धविराममा जान हिच्किचाइरहेका कारण पनि उनले खुलासा गरे। उनका अनुसार पुटिन लडाइँ रोकिसकेपछि फेरि युद्ध सुरु हुने अवस्था आउन नदिन चाहन्छन्।
युद्ध कहिले अन्त्य होला भन्ने प्रश्नमा ट्रम्पले निश्चित समय नतोके पनि आगामी केही हप्ताभित्र शान्ति प्रक्रिया सही दिशामा जान्छ कि जान्न सकिने बताए।

