राजस्थानमा यात्रुबसमा भीषण आगलागीः २० को ज्यान, १५ गम्भीर घाइते

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

२९ असोज, काठमाडौं । भारतको राजस्थानमा भएको यात्रुवाहक बस दुर्घटनामा कम्तीमा २० जनाको ज्यान गएको छ भने १५ जना गम्भीर रूपमा घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर जाँदै गरेको यात्रुहरूले भरिएको बसमा अचानक आगलागी हुँदा ठूलो जनधनको क्षति भएको हो।

थैयत रोडस्थित युद्ध संग्रहालय नजिकै बसको पछाडिबाट धुवाँ निस्किएपछि आगो फैलँदै सम्पूर्ण बस आगोको भीषण ज्वालामा परिणत भएको बताइन्छ। बसमा जम्मा ५७ जना यात्रु सवार थिए।

प्रत्यक्षदर्शीहरूले बताए अनुसार आगो लागेपछि ज्यान जोगाउन धेरै यात्रुहरूले झ्यालबाट हाम फालेका थिए। तर, दमकल घटना भएको करिब ४५ देखि ५० मिनेटपछि मात्रै घटनास्थलमा पुगेको बताइएको छ। सेनाको सहयोगमा जेसीबी ल्याई बसको गेट फोडेर उद्धार कार्य गरिएको थियो।

घटनामा जलेर मृत्यु हुनेहरूमा महिला र बालबालिका पनि रहेका छन्। गम्भीर रूपमा घाइते १५ जनामध्ये अधिकांश ५० देखि ७० प्रतिशतसम्म जलेका कारण जोधपुर अस्पतालमा उपचारका लागि रिफर गरिएको छ।

नयाँ रहेको उक्त बस अक्टोबर १ मा मात्र दर्ता गरिएको थियो र सम्भवतः यो तेस्रो यात्रा थियो। प्रारम्भिक अनुसन्धानअनुसार एसी ब्याट्रीमा सर्ट सर्किट भएर आगलागी सुरु भएको अनुमान गरिएको छ। एसी ग्यास, पर्दा र ज्वलनशील रेजिन सिटहरूले आगो झन् तीव्र बनाएको बताइएको छ।

मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण गरिने तयारी भइरहेको छ। राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले गएराति घटनास्थल पुगेर घटनालाई “अत्यन्तै हृदयविदारक” भन्दै दु:ख प्रकट गरेका छन्।

Leave a comment