सर्वोच्चको फैसला : कांग्रेसको आधिकारिकता गगन थापा समूहलाई, देउवा–खड्काको रिट खारेज

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । नेपाली कांग्रेस को आन्तरिक विवादमा सर्वोच्च अदालतले निर्णायक फैसला सुनाएको छ। अदालतले गगन थापा नेतृत्वको टिमलाई पार्टीको आधिकारिकता दिने निर्वाचन आयोग को निर्णय सदर गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्का ले दायर गरेको रिट खारेज गरेको हो।
न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौला को इजलासले बिहीबार र शुक्रबारको सुनुवाइपछि यस्तो आदेश दिएको हो। यससँगै माघ महिनादेखि जारी कांग्रेसभित्रको विवाद कानुनी रूपमा टुंगिएको छ।
अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वलाई मान्यता दिने निर्णय प्रक्रियामा कुनै कानुनी त्रुटि नरहेको ठहर गरेको छ। साथै, विधानअनुसार विशेष महाधिवेशन गर्न देउवा–खड्का पक्ष उदासिन देखिएको पनि आदेशमा उल्लेख गरिएको छ।
यसअघि देउवा र खड्काले माघ ४ गते निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए। प्रारम्भिक सुनुवाइमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै लिखित जवाफ माग गरेको थियो।
यसबीच थापा समूहले असोज १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। सो कार्यतालिका रोक्न माग गर्दै देउवाले पुनः अर्को रिट दायर गरे पनि सर्वोच्चले महाधिवेशन रोक्न अस्वीकार गरेको छ।
अदालतले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार निर्वाचन आयोगले उपलब्ध प्रमाणका आधारमा गरेको निर्णयलाई वैधानिक ठहर गर्दै रिट निवेदनको औचित्य समाप्त भइसकेको निष्कर्ष निकालेको छ।
फैसलासँगै कांग्रेसको नेतृत्व र वैधानिकताको विवाद अन्त्य भएको छ भने अब पार्टीभित्रको शक्ति सन्तुलन गगन थापा नेतृत्वमा केन्द्रित हुने देखिएको छ।

Leave a Comment