गृहमन्त्री गुरुङमाथि छानबिनको माग, कांग्रेसद्वारा राजीनामाको दबाब

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, बैशाख ७ — नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि उठेका विभिन्न आरोपबारे तत्काल छानबिन प्रक्रिया सुरु गर्न सरकारसँग माग गर्दै उनको राजीनामा पनि आवश्यक रहेको जनाएको छ।
सोमबार पार्टी प्रवक्ता देवराज चालिसेले जारी गरेको प्रेस विज्ञप्तिमा गृहमन्त्रीसँग सम्बन्धित पछिल्ला घटनाक्रमले राजनीतिक नैतिकता, पारदर्शिता र जनविश्वाससँग जोडिएका गम्भीर प्रश्न खडा गरेको उल्लेख गरिएको छ।
कांग्रेसका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री गुरुङको सम्भावित व्यापारिक सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि विवाद चर्किएको हो। त्यस्तै, आन्दोलनपछिको अवधिमा खरिद गरिएको भनिएको शेयर विवरणसमेत सम्पत्ति विवरणमा नसमेटिएको आरोप पनि उठाइएको छ।
यिनै आरोपहरूको निष्पक्ष छानबिनका लागि ढिलाइ गर्न नहुने बताउँदै कांग्रेसले स्वतन्त्र, उच्चस्तरीय र प्रभावरहित अनुसन्धानको माग गरेको छ। पार्टीले अनुसन्धान प्रक्रियामा कुनै पनि प्रकारको हस्तक्षेप हुन नदिन गृहमन्त्रीले पदबाट अलग हुनुपर्ने स्पष्ट गरेको छ।
कांग्रेसले विज्ञप्तिमा भनेको छ कि सम्बन्धित पदमा रहँदा अनुसन्धान प्रभावित हुने आशंका रहन्छ, त्यसैले पारदर्शिता कायम राख्न आवश्यक कदम तत्काल चालिनुपर्छ।

Leave a Comment