रिहाइबारे गलत सूचना, अमृत झा अझै इरानी जेलमै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं — शिशिर खनाल ले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएको दाबी गरे पनि उनी अझै जेलमै रहेको खुलेको छ। मन्त्रीले सामाजिक सञ्जालमार्फत दिएको उक्त जानकारीपछि परिवारमा खुसी छाएको थियो, तर वास्तविकता फरक निस्किँदा उनीहरू थप तनावमा परेका छन्।
परिवारका अनुसार अमृतले हालै फोन गरेर आफू अझै इरानको बन्दर अब्बासस्थित जेलमै रहेको बताएका छन्। यसअघि मन्त्रीले अदालतको आदेशपछि उनी रिहा भएर सुरक्षित स्थानमा पुगेको बताएका थिए।
परराष्ट्र मन्त्रालयले भने यस विषयमा ‘मिसकम्युनिकेशन’ भएको स्पष्टीकरण दिएको छ। मन्त्रालयका अनुसार अदालतबाट रिहाइको आदेश भए पनि प्रक्रिया अझै जारी छ। कतारस्थित नेपाली दूतावासमार्फत उनको रिहाइका लागि कूटनीतिक पहल भइरहेको जनाइएको छ।
अमृत झा अन्तर्राष्ट्रिय कानुन उल्लंघनको आरोपमा इरानमा नियन्त्रणमा परेका सात नेपालीमध्ये एक हुन्। तीमध्ये चार जना रिहा भइसकेका छन् भने अमृतसहित तीन जनाको रिहाइ प्रक्रिया अझै अघि बढिरहेको छ।
यसैबीच, अमृत झाले परिवारलाई पठाएको सन्देशपछि उनकी दिदी पूजा झाले कन्सुलर सेवा विभागमा उद्धारका लागि निवेदन दिएकी थिइन्। त्यसपछि मात्र परराष्ट्र मन्त्रालय सक्रिय बन्दै आवश्यक पहल अघि बढाएको हो।
युद्धको प्रभावका कारण इरानमा रहेका नेपाली अवैतनिक दूत पनि सुरक्षित स्थानतर्फ सर्दै टर्कीमा बसेका छन्। यसले कूटनीतिक समन्वयमा थप चुनौती सिर्जना गरेको छ।

Leave a Comment