सिरहामा तनाव चुलियो : लहानमा पनि कर्फ्यु, गोलबजारमा गोली लागेर एक युवकको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

सिरहा, साउन १४ — सिरहामा सुरक्षा अवस्था थप तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालयले लहान क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

यसअघि गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएपछि जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्म लहान नगरपालिकाको पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्रमा कर्फ्यु लागू गरिएको छ। कर्फ्यु क्षेत्र पूर्वतर्फ बलान खोला, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम) सम्म तथा राजमार्गको दुवैतर्फ ५०० मिटर आसपासको क्षेत्रलाई समेटिएको छ।
यसअघि गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा पनि कर्फ्यु लागू गरिएको थियो। तर प्रदर्शन उग्र बनेपछि बिहीबार गोली लागेर गोलबजार–३ निवासी गणेश यादवको मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन् र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
स्थानीयका अनुसार प्रदर्शनअघि दुई समूहबीच झडप भएको थियो। त्यसपछि प्रदर्शनकारीहरूले मृतकको शव सडकमै राखेर विरोध प्रदर्शन जारी राखेका छन्। प्रशासनले शव उठाउने प्रयास गरे पनि प्रदर्शनकारीले अवरोध गरिरहेका छन्।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार प्रहरीले प्रत्यक्ष गोली नचलाएको दाबी गरेको छ। उनका अनुसार भीड नियन्त्रणका लागि प्रहरीले हवाई फायर र अश्रुग्यास मात्र प्रयोग गरेको थियो। गोली कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
घटनापछि जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरू प्रभावित क्षेत्रमा पुगेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकाय परिचालन गरी अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको प्रशासनले जनाएको छ। साथै, सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

Leave a Comment