सागर विश्वकर्मा,कलैया, साउन १४ — कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह बिहीबार बिहान सडक व्यवस्थापनको विषयमा आफैं अनुगमनमा सक्रिय देखिएका छन्। बिहानको मर्निङ वाकबाट फर्किने क्रममा उनले पुरानो भूमिसुधार कार्यालयदेखि गुप्ताहल जाने सडकमा एक ढुवानी अटोरिक्सा सडक अवरुद्ध हुने गरी तेर्सो पारेर राखिएको देखेपछि तत्काल चासो दिएका हुन्।
मेयर साहले घटनास्थलमै उपस्थित व्यक्तिहरूसँग अटोरिक्साको चालकबारे जानकारी मागे। स्पष्ट जानकारी नपाएपछि उनले नगर प्रहरीलाई तत्काल घटनास्थलमा बोलाएका थिए।
केहीबेरमै नगर प्रहरी र अटोरिक्साका चालक एकै समयमा घटनास्थलमा पुगे। नगर प्रहरीले आवश्यक कारबाहीको तयारी गरिरहेकै बेला चालकले आफ्नो गल्ती स्वीकार गर्दै मेयर साहसँग क्षमायाचना गरेका थिए। उनले पहिलो पटक यस्तो गल्ती भएको भन्दै आगामी दिनमा सडक अवरोध हुने गरी सवारीसाधन नराख्ने प्रतिबद्धता जनाएका थिए।
घटनास्थलमा स्थानीयको समेत भीड लागेको थियो। केहीले नियम उल्लंघन गर्ने चालकलाई कारबाही गर्नुपर्ने धारणा राखे भने केहीले पहिलो गल्ती भएकाले चेतावनी दिएर छाड्नुपर्ने सुझाव दिएका थिए।
स्थानीयको धारणा सुनेपछि मेयर साहले चालकलाई भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने सर्तमा चेतावनीसहित छाड्न निर्देशन दिएका थिए। त्यसपछि चालक अटोरिक्सा लिएर त्यहाँबाट प्रस्थान गरेका थिए भने मेयर साह र नगर प्रहरी पनि आफ्नो नियमित काममा फर्किएका थिए।
सडक अवरोध गर्ने अटोरिक्सा देखेपछि एक्सनमा मेयर बिनोद साह, चेतावनीसहित चालकलाई छाडियो
Leave a Comment
Leave a Comment

