जनकपुरधाम, साउन १४ — सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न तनावको प्रभाव मधेश प्रदेशका अन्य जिल्लामा पनि देखिन थालेको छ। सम्भावित प्रदर्शन र अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालयहरूले धनुषा र सिरहाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका छन्।
धनुषामा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बिहीबार दिउँसो ३:३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन्। लक्ष्मीनिया हाटबजार, सिनुरजोडा, लक्ष्मीपुर बगेवा, बेलौनी रोड, नगराइन, इस्कोन जनकपुर, दुतमती पुल, बेला, कादरी मस्जिदलगायतका संवेदनशील क्षेत्रमा कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।
यस्तै, सिरहाको गोलबजार क्षेत्रमा पनि बिहीबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार कसहा खोला, चोहर्वा चौक, सैनिक चौक र राप्र बहुमुखी क्याम्पस आसपासका क्षेत्र कर्फ्युको दायरामा परेका छन्।
प्रशासनले कर्फ्यु अवधिभर अत्यावश्यक सेवाबाहेक आवागमन, भेला, जुलुस, प्रदर्शन, सभा तथा अन्य सार्वजनिक गतिविधिमा पूर्ण रोक लगाएको छ। स्थानीय बासिन्दालाई शान्त रहन, अफवाहमा विश्वास नगर्न र सुरक्षाकर्मी तथा प्रशासनसँग सहयोग गर्न आग्रह गरिएको छ।
सुनसरी घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा व्यवस्था थप कडा पारिएको प्रशासनले जनाएको छ।
सुनसरी घटनाको प्रभाव फैलिँदै, धनुषा र सिरहाका संवेदनशील क्षेत्रमा कर्फ्यु लागू
Leave a Comment
Leave a Comment

