काठमाडौं, माघ १९ — राष्ट्रिय सभा बैठकले निर्वाचन र राज्य सञ्चालनसँग सम्बन्धित तीन महत्वपूर्ण अध्यादेश सर्वसम्मतिले पारित गरेको छ।
सोमबार सिंहदरबारमा बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश तथा नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश लाई अनुमोदन गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्याल ले उक्त अध्यादेशहरू पारित गरियोस् भन्ने प्रस्ताव सभामा पेश गरेका थिए, जसलाई बैठकले समर्थन जनाएको हो। यी अध्यादेशहरू निर्वाचन व्यवस्थापन, मतदाता अभिलेख अद्यावधिक तथा विशेष सेवासम्बन्धी कानुनी व्यवस्थामा संशोधनसँग सम्बन्धित छन्।
बैठकमा संसदीय समितिका प्रतिवेदनहरू पनि टेबुल भएका छन्।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्मा ले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेश गरे।
त्यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्त ले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
राष्ट्रिय सभाको अर्को बैठक माघ २३ गते शुक्रबार बस्नेछ।

