काठमाडौंमा अतिक्रमणविरुद्ध डोजर अभियान जारी, आज ६ सयभन्दा बढी संरचना हटाइँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं महानगरपालिकाले नदी किनार र सार्वजनिक जमिनमा बनेका अतिक्रमित संरचना हटाउने अभियानलाई आज पनि निरन्तरता दिएको छ। हिजो बल्खु, टेकु, वंशीघाट र शंखमूल क्षेत्रमा सञ्चालन गरिएको अभियानमा ७ सय ४४ घरटहरा भत्काइएको थियो भने आज थप ६ सयभन्दा बढी संरचना हटाउने तयारी गरिएको छ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार बिहानैदेखि रुद्रमति र घट्टेकुलो आसपास डोजर परिचालन भइसकेको छ। त्यस्तै वडा नम्बर १५ को स्वयंभू क्षेत्र र वडा नम्बर १६ को बालाजु क्षेत्रमा पनि आजै अभियान विस्तार गरिनेछ।
भत्काइएका संरचनाबाट प्रभावित परिवारहरूमध्ये हालसम्म ३२३ परिवार सरकारको सम्पर्कमा आएका छन्। तीमध्ये १ हजार ४१४ व्यक्तिको विवरण संकलन गरिएको छ भने ८० जनालाई हिजै खरिपाटीस्थित अस्थायी आवासमा व्यवस्थापन गरिएको जनाइएको छ। अन्य प्रभावितलाई पनि क्रमशः व्यवस्थापन गर्ने तयारी भइरहेको छ।
अभियानका क्रममा सुरक्षा सतर्कता बढाइएको छ र दैनिक सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। यद्यपि, केही स्थानमा लालपूर्जा भएका घरहरू समेत भत्काइएको गुनासो आएपछि स्थानीयवासीमा त्रास फैलिएको छ।
विशेषगरी शंखमूल र धोबीखोला आसपासका बासिन्दाले आफ्नो घरमा जग्गाधनी प्रमाणपत्र टाँसेर वैधता देखाउन खोजेका छन्। सुकुम्बासीको स्पष्ट पहिचान नभएको अवस्थामा सबै संरचना हटाइँदा वास्तविक पीडितसमेत समस्यामा परेको स्थानीयको भनाइ छ।
महानगरले भने वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सरकारले निर्माण गरेका सेल्टरमा राखिने जनाएको छ। साथै, प्रभावित व्यक्तिहरूलाई स्क्रिनिङका लागि दशरथ रंगशालामा लगिने प्रक्रिया जारी रहेको छ।

Leave a Comment