मंसिर ४, बारा
बाराको सिमरामा जेनजी समूहका एक युवामाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा एमालेका दुई वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा ६ का वडाध्यक्ष कैमोदिन अन्सारी रहेका छन्। दुवैजना नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बिहान सिमरा चोकमा उत्पन्न वादविवादका क्रममा जेनजी युवा सम्राट उपाध्यायमाथि हातपात भएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उपाध्यायले श्रेष्ठ र अन्सारीसहित ६ जनामाथि किटानी जाहेरी दर्ता गराएका थिए।
तर बाँकी ४ जना फरार रहेकाले पक्राउ नपरेको भन्दै जेनजी युवाले आज बिहान १० बजेदेखि सिमरा चोकमा टायर बालेर विरोध प्रदर्शन सुरू गरेका छन्। आन्दोलनका कारण यातायात सेवा अवरुद्ध बनेको छ।
यसअघि एमालेले बाराको परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो। सो कार्यक्रमलाई सम्बोधन गर्न उपाध्यक्ष शंकर पोखरेल, महेश बस्नेतलगायतका नेता काठमाडौँबाट आएका थिए।
यही कार्यक्रमलाई लक्षित गर्दै जेनजी समूहले मंगलबार राति सामाजिक सञ्जालमार्फत शान्तिपूर्ण प्रदर्शनको आह्वान गरेको थियो।
बिहानै सिमरा चोकमा एमाले कार्यकर्ता र जेनजी युवाबीच वादविवाद बढ्दै गएपछि कुटपिटको घटना भएको थियो। घटनापछि आक्रोशित जेनजी युवाहरूले एमाले नेताहरूलाई पछ्याउँदै सिमरा विमानस्थलसम्म पुगेर नाराबाजी, ढुंगामुढा र सिसाका बोतल प्रहार गरेका थिए। उनीहरूले विमानस्थलको मुख्य गेट पनि फालेका थिए, जसले परिस्थितिलाई थप तनावपूर्ण बनायो।
प्रहरीले अहिले विमानस्थल क्षेत्र र सिमरा बजारमा सुरक्षा व्यवस्था कडा पारेको छ।



Leave a Reply