बारा — जीतपुरसिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दुई नाबालकसहित ९ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
भक्तिनगरस्थित एक खाली घरमा गत भदौ २ गते बालिका मृत अवस्थामा भेटिएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक अनुसन्धान थालेको थियो। सोही क्रममा अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी विभिन्न चरणमा आरोपितहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जीतपुरसिमरा–१ का २४ वर्षीय प्रोगेश भनिने पुग्रेश चौधरी, ५० वर्षीय इन्द्रजित चौधरी, २५ वर्षीया पुष्पा चौधरी, २६ वर्षीया ममता चौधरी, ४५ वर्षीय शेख हसमुदिन आलम र ४० वर्षीय टेकबहादुर थापामगर छन्। यस्तै, जीतपुरसिमरा–२ का ३३ वर्षीय नवीन विक पनि पक्राउ परेका छन्।
घटनामा संलग्न रहेको आशंकामा १६ र १४ वर्षका दुई बालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। नाबालक भएकाले उनीहरूको पहिचान कानुनी प्रावधानअनुसार गोप्य राखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई बारा जिल्ला अदालतबाट पहिलो चरणमा चार दिन र त्यसपछि थप पाँच दिनको म्याद लिएर हिरासतमा राखिएको छ। उनीहरूमाथि घटनासँग सम्बन्धित विभिन्न पक्षबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीले घटनास्थलबाट संकलित प्रमाण, आरोपितहरूको बयान, उनीहरूबीच भएको सम्पर्क तथा घटनामा अन्य व्यक्तिको सम्भावित संलग्नतासमेत अनुसन्धानको दायरामा राखेको जनाएको छ। घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धानलाई थप सूक्ष्म बनाइएको प्रहरीको भनाइ छ।
गरिमा हत्या प्रकरणमा दुई नाबालकसहित ९ जना पक्राउ, अनुसन्धान तीव्र
Leave a Comment
Leave a Comment

