निवासमा भेटघाट बन्द गर्दै आईजीपी पौडेलद्वारा कडाइको संकेत

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, वैशाख २१ — सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल ले पदभार सम्हालेसँगै संगठनमा कडाइ र पारदर्शिता बढाउने संकेत दिएका छन्।
प्रधान कार्यालय हल्चोकमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अबदेखि अधिकारीहरूसँगको भेटघाट सरकारी निवासमा नगर्ने निर्णय सुनाएका हुन्। उनले सबै प्रशासनिक तथा संगठनात्मक काम कार्यालयमै, महानिरीक्षकको सचिवालयमार्फत सञ्चालन गरिने स्पष्ट पारे।
गृहसचिव राजकुमार श्रेष्ठ बाट दर्ज्यानी चिह्न ग्रहण गरेपछि उनले सरकारी निवासलाई व्यक्तिगत प्रयोजनमै सीमित राख्न चाहेको बताए।
आईजीपी पौडेलले संगठनभित्र अनुशासन, चेन अफ कमाण्ड र निष्ठालाई प्राथमिकतामा राख्दै गैरव्यावसायिक गतिविधि र भ्रष्टाचारप्रति ‘शून्य सहनशीलता’ नीति लागू गरिने दोहोर्‍याए।
उनले पुरस्कार र दण्डको व्यवस्था निष्पक्ष र पारदर्शी बनाइने उल्लेख गर्दै सुधारलाई निरन्तर प्रक्रिया भएको बताए। साथै, मनसुन नजिकिँदै गर्दा सम्भावित विपद् व्यवस्थापनका लागि सबै इकाइलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी पनि दिएका छन्।

Leave a Comment