बारा, असोज २५ — बाराको सिम्रौनगढ नगरपालिका–६ पानी टंकी नजिक माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घर लिप्ने प्रयोजनका लागि माटो खन्ने क्रममा भएको उक्त दुर्घटनामा सिम्रौनगढ नगरपालिका–६ सानो इटवालकी ७० वर्षीया शारदा देवी महतो र सिम्रौनगढ–५ सानो इटवालका १५ वर्षीय सुनिल महतो (निरहुवा) को मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) बिजयराज पण्डितका अनुसार शारदा देवी महतोको उपचारका लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। त्यस्तै सुनिल महतोलाई कलैया मेट्रो अस्पतालमा पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
दुर्घटनामा घाइते भएका छ जना स्थानीयको अवस्था सामान्य रहेको डीएसपी पण्डितले जानकारी दिए। उनका अनुसार घाइतेहरू क्रमशः —
१. साजन महतो (१४) – हातखुट्टा चोट, सिम्रौनगढ कंकाली अस्पतालमा उपचार।
२. नितेश महतो (१५) – हात, खुट्टा र टाउकोमा चोट, अवस्था सामान्य, सिम्रौनगढ कंकाली अस्पतालमा उपचार।
३. गौतम मुखिया (१८) – हातखुट्टा चोट, प्रादेशिक अस्पताल कलैयामा उपचार।
४. रानी कुमारी महतो (१४) – बायाँ हात भाँचिएको, अवस्था मध्यम, प्रादेशिक अस्पताल कलैयामा उपचार।
५. सुशिला कुमारी महतो (१४) – हातखुट्टा चोट, धर्मनगर अस्पताल सिम्रौनगढमा उपचार।
६. राजा बाबु शर्मा (१५) – ढाड र कम्मरमा चोट, धर्मनगर अस्पताल सिम्रौनगढमा उपचार।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक पवन पछाईको कमाण्डमा १४ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल सिम्रौनगढबाट ७ सदस्यीय टोलीले उद्धार कार्य गरेको थियो।
डीएसपी पण्डितका अनुसार माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा स्थानीयहरू माटोमा पुरिएका थिए। “प्रहरी र स्थानीयवासीको सहयोगमा तुरुन्तै उद्धार गरी अस्पताल पठाइएको छ,” उनले बताए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



Leave a Reply